Not in favor of another power center stands Deuba


चैत्र १३, २०७२- कांग्रेस नेता रामचन्द्र पौडेलले दलको नेता आफूलाई दिन आग्रह गरिरहेका बेला पार्टी सभापति शेरवहादुर देउवा भने सांसदहको जोडघटाउमा तल्लिन छन् ।
विधानको व्यवस्था र परम्परागत अभ्यास अनुसार संसदीय दलकै नेता प्रधानमन्त्री हुने गरेकाले यतिबेला देउवा आफ्नो विकल्प खोज्न तयार छैनन् । आफ्नै मित्र पौडेललाई पार्टी सभापतिमा पराजित गरेपछि देउवा कांग्रेसको मात्रै नभई राष्ट्रिय राजनीतिको शक्ति केन्द्र बनेका छन् । दलको नेता पौडेललाई दिएर देउवा पार्टीभित्रै अर्को शक्तिकेन्द्र खडा गर्न चाहँदैनन । पौडेल पक्षले पदीय बाँडफाँडको जतिसुकै अनुनय गरे पनि देउवा संसदीय दलको नेता आफू बन्ने तयारीमा रहेको उनी निकट नेता बताउँछन् । त्यसका लागि देउवाले आफू र निकट नेताहरूमार्फत पौडेल पक्षका सांसदहरुलाई आफ्नो पक्षमा ल्याउने कसरत समेत सुरु गरेका छन् ।
पौडेल पक्षमा भने उम्मेदवार को हुने भन्ने नै अन्यौल छ । पौडेललाई सर्वसम्मत रूपमा दलको नेता बनाउने प्रयासमा लाग्दै आएका केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, रामशरण महत सहितका नेताहरु चुनावी प्रतिस्पर्धामा भने उनलाई अघि बढाउन नहुने पक्षमा छन् ।
‘सर्वसम्मत हुने अवस्था आए ठिकै छ, नत्र हार्ने चुनावमा पौडेललाई अघि बढाउन हुन्न,’ पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने,‘यस्तो अवस्थामा सिंह या महतमध्ये एकजनालाई उम्मेदवार बनाउन उचित हुन्छ ।’ केन्द्रीय सदस्य सिंहका अनुसार दलको नेतामा सर्वसम्मत हुने अवस्था नभए कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा आइतबार छलफल गरिने बताए । ‘हाम्रो पक्षको भोलि (आइतबार) बैठक छ । सभापतिको निर्वाचनमा पनि मैले सल्लाह अनुसार नै रामचन्द्र दाइलाई अन्तिम अवस्थामा छाडेको हो,’ सिंहले कान्तिपुरसँग भने, ‘दलको नेतामा पनि कसलाई अघि बढाउने भन्ने बिषय सल्लाह अनुसार नै अघि बढ्छौं ।’
पौडेलको पहिलो प्राथमिकता सभापति देउवालाई फकाएर दलको नेता लिने प्रयास गर्ने, सम्भव नभए आफै प्रतिस्पर्धा गर्ने मुडमा छन् । देउवासँग दुई पटक भएको भेटमा पौडेलले आफूनो सक्रियतालाई हेरेर काम गर्ने ठाउँ दिन आग्रह गर्दै आएका छन् । तर, देउवा पार्टी सञ्चालन र पछि सरकारको नेतृत्व लिने अवस्थामा सल्लाह अनुसारनै आफू अघि बढ्ने बताउदै दलको नेतामा आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । पार्टीको सभापतिपछि दलको नेतामा पनि देउवासँग प्रतिस्पर्धा गर्न पौडेल आफै अघि बढ्ने सुरमा छन् । उनले दलको नेता जित्न नसकेपनि आफ्नो समूहको सुरक्षाका लागि प्रतिस्पर्धा गर्नुपर्ने तर्क गर्दै आएका छन ।  
दलको नेताको निर्वाचनमा पहिलो संविधानसभाको निर्वाचनपछि पौडेलसँग र दोस्रो संविधानसभाको निर्वाचनपछि तत्कालिन पार्टी सभापति सुशील कोइरालासँग पराजित देउवा यतिबेला भने सहज स्थितिमा छन् । तत्कालिन सभापति कोइरालाको निधनपछि करिव एक दर्जन सांसद पुरानो संस्थापन छाडेर देउवा पक्षमा पुगेका छन् । पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका नेता कृष्णप्रसाद सिटौला दलको निर्वाचनमा पनि देउवासँगै निकट देखिएका छन् । सिटौला र पार्टीभित्र छुट्टै गुटको नेतृत्व गरेका खुमबहादुर खड्काको समूह बिच्किएन भने देउवा सहजै दलको नेता बन्न अवस्था रहेको उनी निकट नेता बताउँछन् । देउवा निकट केन्द्रीय सदस्य ज्ञानेन्द्रवहादुर कार्की चुनावी प्रतिस्पर्धामा देउवाको सहज बुहमत देखिइसकेको दाबी गर्दै सर्वसम्मत गराउँदा राम्रो सन्देश जाने बताए ।
‘पार्टी एकताका लागि सभापतिजीलाई संसदीय दलको नेतामा सर्वसम्मत गराउन उपयुक्त हुन्छ । भारतमा सोनिया गान्धी पार्टी अध्यक्ष र दलको नेता भएर पनि प्रधानमन्त्री मनमोहन सिंह भएका हुन् । भोलि त्यस्तो परिस्थिति निर्माण हुनसक्छ,’ कार्कीले भने, ‘कार्यकर्ताको चाहना र महाधिवेशनको म्यान्डेट पनि देउवालाई दलको नेता बनाउने हो ।’
सिटौला निकट एक सांसदले आफ्नो समूहको निर्णय भइनसकेको बताए । ‘देउवालाई सहयोग गर्ने भन्ने निर्णय भइसकेको अवस्था छैन,’ उनले भने, ‘आन्तरिक रुपमा छलफल हुँदैछ ।’
पछिल्लोपटक ०७० माघ १२ मा भएको संसदीय दलको नेताको निर्वाचनमा तत्कालिन सभापति कोइरालाले देउवालाई १६ मतले पराजित गरेका थिए । त्यतिबेला कायम रहेको १ सय ९४ मतमा कोइरालाले १ सय ५ र देउवाले ८९ मत ल्याएका थिए । उपनिर्वाचन, सरकारबाट मनोनित र एक स्वतन्त्रको प्रवेशसहित अहिले कांग्रेसमा २ सय ६ मतदाता छन् । उतिबेला कोइरालालाई मतदान गर्नेहरु अर्जुननरसिंह केसी, मानवहादुर विश्वकर्मा, फरमुल्ला मन्सुर, सुर्यमान गुरुङ, अर्जृुन जोशी, चन्द्र भण्डारी, जगदिशनरसिंह केसी, केशवकुमार बुढाथोकी, अमरेशकुमार सिंह, मधु शाही, मिठु मल्ल र अतहर कमाल मुसलमानसहित १२ जना देउवा पक्षमा पुगिसकेका छन् । सिटौला पक्षले सहयोग गर्दा देउवा सुविधाजनक बहुमतमा पुग्छन् । ‘आफ्नो राजनीतिक भविष्य र शक्तिका पछि लाग्ने भएकाले यी बाहेक अन्य सांसदहरु पनि आउने तर्खरमा छन्,’ देउवा निकट स्रोतले भन्यो, ‘त्यसका लागि कुराकानी भइरहेको छ ।’ अघिल्लो दलको नेताको चुनावमा देउवा पक्षमा रहेकी सांसद सीता यादवमात्र पार्टीको महाधिवेशनको पूर्वसन्ध्यादेखि पौडेल पक्षमा लागेकी छन् ।
सभापतिमा देउवा पक्षलाई साथ दिएका खुमबहादुर खडका र कुलबहादुर गुरुङ समूहले भने दलको नेताका लागि मतदान दिनुअघिनै बार्गेनिङ थालेका छन् । खडकाले दलको नेताको चुनावअघि नै देउवा समक्ष आफूलाई उपसभापति बनाउन र गुरुङले बरिष्ठ नेता बनाउनुपर्ने राखिरहेका ।
गुरुङले बरिष्ठ नेताको माग गरेपनि आफ्नो समूहमा रहेका नेता गोविन्दराज जोशीलाई केन्द्रीय सदस्यमा ल्याउनुपर्ने सर्त राखेको स्रोतले बतायो । जोशी खुला २५ मा पराजित भएका थिए । असुन्तष्टि बढ्न सक्ने कारणले देउवाले दलको नेताको निर्वाचन अघि पार्टी पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन नगर्ने भएका छन् । 
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment