चैत्र १२, २०७२- फलामे ढोकाका रूपमा मानिने २०७२ सालको एसएलसी परीक्षा नजिकिँंदैछ । गतवर्ष परीक्षामा सामेलमध्ये ४७.४३ प्रतिशत विद्यार्थी एसएलसीमा उत्तीर्ण भएका थिए । त्यस अघिको परिणाम हेर्ने हो भने वर्षेनि करिब ६० प्रतिशत छात्रछात्रा एसएलसीमा फेलको सिकार हुन्छन् । तिनका लागि एसएलसी साँच्चै फलामे ढोका सावित हुने गरेको छ ।
शिक्षण पद्धति र पूर्वाधार पनि बेग्लाबेग्लै हुने भएकाले निजी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ठूलो खाडल छ ।
केही सामुदायिक विद्यालयले पनि उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । कमजोर आर्थिक अवस्था भएका नागरिकका छोराछोरी मात्र पढ्ने ठाउँ सामुदायिक विद्यालय हो भन्ने सानो सोचाइ राख्ने विद्यालय र अभिभावक अनि समाजलाई सामुदायिक विद्यालयमा पढेका बालबालिकाले ल्याएको उत्कृष्ट परिणाम र विद्यालयको मिहिनेत, अनुशासन, व्यवस्थापन देखेर अभिभावकले केही सिक्नुपर्ने देखिएको छ ।
शतप्रतिशत असफलता हात पार्ने निजी र सामुदायिक दुवै खाले विद्यालय पनि भेटिए । राज्यको अकर्मण्यता, कर्मचारी तथा शिक्षकको गैरजिम्मेवारीपन र अभिभावकको बेवास्ताका कारण के हुनसक्छ, कारण खोजेर गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ ।
नत्र राष्ट्र र दातृ निकायले शिक्षा क्षेत्रमा गरेको उल्लेख्य लगानीअनुरुप परिणाम प्राप्त हुँदैन । आर्थिक सम्पन्नताको एउटा मापन महँगा विद्यालयमा आफ्ना छोराछोरी राखेर प्रस्तुत गरेका छौं हामीले ।
शैक्षिक क्षेत्र, अभिभावक र सरोकारवाला सबै निकाय र व्यक्तिका लागि प्राथमिकताका साथ यसकै चासो र चिन्ताको विषय बन्नुपर्छ । एसएलसी फेल हुँदा शैक्षिक प्रगति रोकिएर बेरोजगार भएका निराश नागरिकको संख्या लाखौं पुगिसकेको छ ।
कक्षा १० को पाठ्यक्रममा आधारित रहेर तीन घन्टाको परीक्षाले बालबालिकाको सर्वाङ्गीण क्षमताको परीक्षण गर्न नमिल्नुपर्ने हो । जति विद्यार्थीले सर्वोत्कृष्ट अंक ल्याएर सफलता हासिल गरे, तिनीहरूप्रति र ती विद्यालयप्रति शुभकामना र बधाईको भाव प्रकट भैरहने गरेको छ ।
तर ती निर्दोष, अबलाले अनुत्तीर्ण घोषित गरिएकै आधारमा जीवन त्याग्न पुग्ने स्थिति यथावत छ । यसको जिम्मा कसले लिने ? राज्य ? विद्यालय ? विद्यालय व्यवस्थापन ? अभिभावक ? शिक्षा प्रणाली ? हाम्रो सोचाइ ? हामीले दिएको शिक्षा ? हाम्रो अपेक्षा ? कहाँनेर सुधार आवश्यक छ ? के उपाय छ ? पहिचान हुनु जरुरी छ । अन्यथा एसएलसी परीक्षाको परिणामले उही समाज, विद्यालय, राष्ट्र र घरमा खुसियाली र रोदन पैदा गरिरहन्छ ।
गत बैसाखमा गएको शक्तिशाली भूकम्प र त्यसपछि बारम्बार गैरहेका परकम्पको प्रभावले क्षति भएका र लामो समय बन्द भएर पढाइ हुन नसकेका विद्यालयका विद्यार्थी, कक्षाकोठा बाहिर बसेर अध्ययन गरेका विद्यार्थीलाई हामीले परिभाषा गर्ने फलामे ढोका र उनीहरूको बाल मनोदशामा बसेको एसएलसीको कल्पना कस्तो हुँदो हो ?
वर्षेनि एसएलसी नजिकिँंदै गर्दा परिवार, विद्यालय र समाजबाट उपदेश बर्सिन थालेको हुन्छ– तिमीहरूले यो वर्ष पोहोरभन्दा धेरै अंक ल्याएर देखाउनुपर्छ । एसएलसी नै तिमीहरूको शैक्षिक गुणस्तर जाँचिने कसी हो, धेरै मिहिनेत गर्ने र धेरै अंक ल्याउने एसएलसीमै हो ।
यो फलामे ढोका पार गरेपछि त केही छैन । यस्तै उपदेशबाट बाल मनस्थितिमा असर पुगिरहेको हुनसक्छ । यस वर्षदेखि एसएलसीको नतिजा प्रतिशतमा नभएर ग्रेड (तह) का आधारमा निकालिनेछ ।
समस्या एक्कासी एसएलसीमा मात्र आएको छैन, यसको सुरुवात कसरी भएको छ, जरादेखि पत्ता लगाउनसके मात्र समाधान निस्कन सक्छ । अर्कोतिर महँगो शुल्क लिएर, शैक्षिक संस्थालाई नै आय आर्जन र व्यापारीकरण गरिएका निजी विद्यालयमा समेत नियमित र अनुकूल वातावरणमा पठनपाठन गर्ने व्यवस्था, विद्यालयको शौचालय, सरसफाइ, भौतिक सुविधामा ख्याल गरिँदैन ।
किशोरी अवस्थाका विद्यार्थीलाई विद्यालयको असहज भौतिक वातावरणले धेरै समस्या उत्पन्न गराएको हुन्छ, जसले गर्दा उनीहरूको ध्यान पढाइमा राम्रोसँग जान सक्दैन ।
नेपालमा सहरैपिच्छे बग्रेल्ती निजी विद्यालय खोल्ने, तिनले योग्यता, अनुभव, शिक्षाको पृष्ठभूमिलाई ख्याल नगरी मोलमोलाइमा शिक्षक राख्ने प्रवृत्ति छ । यस्तै सरकारी विद्यालय अस्थायी र करारमा शिक्षक तथा कर्मचारी नियुक्तिमा राजनीतिक चलखेल हुने, व्यवस्थापन समिति नै दलगत चुनावका आधारमा गठन हुने भएकाले राजनीतिक अखडा बन्ने गरेका छन् । यस विरुद्ध कसैले आवाज उठाउनसकेको छैन ।
अध्यापन गराउने शिक्षकको मनस्थितिमा हजारौं बालबालिकाको भविष्य मेरो शैक्षिक स्तर र मेरो प्रस्तुतिमा छ भन्ने ख्याल नगरी अर्को राम्रो जागिर पाएको दिन त यो छोड्ने नै हो भन्ने छ ।
एसएलसीको नतिजा शतप्रतिशत पुर्याउन ९–१० कक्षामा पुगेका विद्यार्थीलाई सानो उमेरदेखि नै उनीहरूको भावना बुझेर अध्यापनमा जोड दिनु आवश्यक छ । शिक्षकले प्रेमपूर्ण भएर जस्तो बच्चालाई पनि सुधार्न सक्छ ।
गालीगलौज र भौतिक सजायले कोही पनि सुध्रिँदैन । शिक्षक प्रेमको खानी हुन सक्नुपर्छ । हाम्रा कलिला बालबालिकाको भविष्य हाम्रो हातमा छ, उनीहरूको बाल मनोभावनामा नकारात्मक असर पुर्याउने अधिकार कसैलाई छैन ।
किताबी ज्ञानले मात्र आँखा खुल्दैन, त्यसैले पाठ्यक्रममा मात्र आधारित नभई नैतिक शिक्षा, मनोवैज्ञानिक, आध्यात्मिक गुरुहरूका मार्गदर्शन जस्ता रोचक विषय प्रस्तुत गरी फरक ढंगले केटाकेटीको मन जित्नु आजको शिक्षा हो ।
जति सिक्छन्, साना नानीहरूले त्यो सकारात्मक कुरामात्र सिकुन्, प्रसन्न भएर सिकुन्, अनि उनीहरूमा छिपेको खुबी आफैं प्रस्तुत गर्न नडराउन्, त्यो हो— आजको शिक्षा ।
यो सानो र बेवास्ताको विषय होइन, ठूलो सत्यता यसमा लुकेको छ । शान्त, समृद्ध नेपालको परिकल्पना गर्ने हो भने हाम्रा कलिला बालबालिकाको शिक्षा प्रणालीमा सुधार प्रथम महत्त्वपूर्ण कदम हो ।
http://bit.ly/1Skrc73
0 comments:
Post a Comment